भारतमा महँगो स्मार्टफोन प्रयोग गर्ने बढे

भारतमा महँगो स्मार्टफोनको बजार बढ्दै गएको काउन्टरपोइन्टले रिपोर्ट सार्वजनिक गरेको छ। भारतीय उपभोक्ताहरु अधिक प्रिमियम मोडल तर्फ आकर्षित हुँदै गएका छन्। गेम खेल्न, एआई चालउन र उच्च गुणस्तरको तस्वीर खिच्नका लागि भारतीय उपभोक्ता प्रिमियम मोडलतर्फ सर्दै रिपोर्टमा बताइएको छ। किफायती वित्तीय योजना र ट्रेड–इन अफरले पनि भारतीय उपभोक्तालाई महँगो फोन प्रयोग गर्न प्रेरित गरिरहेको छ।

प्रिमियम स्मार्टफोन सेग्मेन्ट (३० हजार भारु) बिक्रीका आधारमा हालसम्मको सबैभन्दा उच्च बजार सेयर २० प्रतिशतमा पुगेको छ। मूल्यको आधारमा सेयर हेर्दा यस सेग्मेन्ट ५१ प्रतिशत भएको जीएसएमएरिनाले उल्लेख गरेको छ। अर्थात भारतमा स्मार्टफोनमा खर्च हुने आधाभन्दा बढी रकम प्रिमियम डिभाइसमा गइरहेको छ।

फाइभजी अपनाउने क्रम बढ्दै गइरहेको छ र फाइभजी ह्यान्डसेटको ढुवानी ७१ प्रतिशतको नयाँ उचाइमा पुगेको छ। प्रिमियम सेग्मेन्टको बिक्री बढ्नुमा फाइभजीको पनि उल्लेखनीय योग्दान छ।

संख्याको आधारमा २०२४ को पहिलो त्रैमासमा भिभो भारतमा पहिलो पटक नम्बर वान स्मार्टफोन ब्रान्ड बनेको छ। अत्याधुनिक फाइभजी प्रविधि र प्रभावशाली क्यामराले भिभोलाई भारतको शीर्ष ब्रान्ड बनाएको छ।

मूल्यका आधारमा भने विगतको जस्तै सामसङ नै शीर्ष स्थानमा छ। ग्यालेक्सी फोनको औसत बिक्री मूल्य (एएसपी) करिब ४२५ अमेरिकी डलर छ। यो विगतको मूल्यभन्दा बढी हो। ग्यालेक्सी एस२४ सिरिज (एआई)को बलियो बिक्रीका कारण यो सम्भव भएको छ। सुझारिएको ग्यालेक्सी ए सिरिजले पनि बजारमा राम्रो प्रदर्शन गरेको छ।

यस त्रैमास एप्पलका लागि सुखद रहेको छ। प्रिमियम सेग्मेन्टमा आईफोन १५ ले बलियो बिक्री गरेको छ। विशेष गरी अफलाइन स्टोर मार्फत। प्रिमियम सेग्मेन्टमा एप्पलले संख्या र मूल्य दुबैमा अग्रता लिएको छ।

एजेन्सी

Comments

Back to top