अमेरिकासहित ब्राजिल, भारत र रुसको अर्थतन्त्रमा उच्च सुधार हुने राष्ट्र सङ्घको अनुमान

अमेरिकासहित उदीयमान अर्थतन्त्र भएका देशमा आएको सुधारका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

राष्ट्र सङ्घले प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्रमा सुधार आएको जनाएको हो । तर कमजोरीहरू बाँकी रहेका प्रतिवेदनमा उल्लेख छ । विश्व अर्थतन्त्र यो वर्ष अर्थात् सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान छ ।

अर्थतन्त्र बढ्नुमा मुख्य कारण अमेरिकासहित ब्राजिल, भारत र रुसको अर्थतन्त्रमा सुधार हुनु रहेको छ । चीनको आर्थिक वृद्धि भने सामान्य रहने अनुमान छ । भारतको अर्थतन्त्र सन् २०२४ मा छ दशमलव नौ प्रतिशतले बढ्ने अनुमान छ । युक्रेन युद्धकै बीच रुसको वृद्धि दर दुई दशमलव सात प्रतिशतले बढ्ने छ । अफ्रिका र पश्चिमी एशिया क्षेत्रहरूमा आर्थिक वृद्धि सुस्त हुने अनुमान छ ।

सन् २०२४ मा वस्तु तथा सेवाको विश्वव्यापी व्यापारमा पनि सुधार हुने राष्ट्र सङ्घको अनुमान छ । विश्व अर्थतन्त्रमा उच्च ब्याज दर, ऋणका चुनौती, भू–राजनीतिक तनाव र बढ्दो जलवायु जोखिमले चुनौतीहरू खडा गरिरहेका पनि प्रतिवेदनमा भनिएको छ ।

एजेन्सी

Comments

Back to top