इजरायलसँग युद्धविरामका लागि छलफल गर्न हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरोमा

इजरायलसँग युद्धविरामका लागि छलफल गर्न हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरो पुगेको छ। तीन चरणमा युद्धविराम गर्ने प्रस्तावसहित इजिप्टले हमास र इजरायल दुवैलाई वार्ताको लागि सहमत गराएको हो । गाजामा युद्ध रोक्न सक्ने इजिप्टको ग्यारेन्टी पाएपछि हमासले वार्ता टोली पठाएको खबरमा उल्लेख छ ।

इजरायल र इजिप्टले अब पनि हमासले युद्धविरामको सम्झौता नगरेमा गाजाको अवस्था झनै भयावह हुने चेतावनी दिएका छन् । अमेरिकाको संघीय अनुसन्धान ब्युरो सीआईएका निर्देशक विलियम बन्र्सले युद्धविराम सम्झौतामा इजिप्ट, अमेरिका र कतारले ग्यारेन्टरको भूमिका खेल्ने बताउनुभएको छ । गएको सोमबार पनि हमाससँग वार्ता भएकोमा युद्धविरामको सम्झौता हुन सकेको थिएन ।

अहिले इजिप्टले तयार पारेको युद्धविराम पहलमा तीन वटा चरण रहेका छन् । जसमा इजरायली बन्धक र प्यालेस्टाइनका कैदीको आदानप्रदान गर्नु, युद्धविराममा पुग्न आवश्यक उपायहरू लिनु र दिगो शान्ती पुनर्स्थापना गर्नु रहेका छन् । पहिलो चरण ४० दिनको हुने छ । जसमा दुवै पक्षले आक्रमण रोक्ने, बन्दी र कैदीको आदानप्रदान गर्ने र गाजाबाट विस्थापित नागरिकलाई आफ्नो निवास क्षेत्रमा फर्काउने व्यवस्था रहेका छन् ।

एजेन्सी

Comments

Back to top