सर्लाहीकाे बाराउद्याेरण गाउँमा आगलागी, ६५ घर जले

सर्लाहीको विष्णु गाउँपालिका–१ काे बाराउद्योरण गाउँमा आगलागी हुँदा ६५ घर जलेका छन् । हिजाे दिउँसाे स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए।

हिजाे दिउँसो १ बजेतिरबाट शुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा झन्डै चार घण्टापछि निभाइएको वडाध्यक्ष ठाकुरले बताए । फुसको र खपडाको छानासहितका घर धेरै भएकाले आगो चाँडै फैलिएकाे उनकाे भनाइ छ ।

विष्णु गाउँपालिकाका प्रमुख जवाहरलाल यादवले आगलागीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको र भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका बताए । अहिले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेकाे छ ।

एजेन्सी

Comments

Back to top