गृहमन्त्रीको राजीनामाको माग लिएर फेरि आन्दोलन शुरु हुन्छ - राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।
मंगलवार काठमाडौँका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरूमा थपिएको बताएका छन्।
उनले गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरूलाई छानिछानी आक्रमण गर्न लगाएको आरोप लगाए । उनले निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको बताए ।
उनले आफूहरूले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरूमा समावेश गरेको बताए । उनले राप्रपाले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरीत रहेको भन्दै तोड्ने योजना बनाइ प्रदर्शन गर्दा प्रहरीले दमन गरेको बताए।
उनले सरकारले तोकेको निषेधित क्षेत्रहरू संविधान बमोजिम नरहेको र संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको बताए । ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको हो ।
एजेन्सी
Comments