देशभरका १ सय ३० ठाउँमा डढेलो, काठमाण्डौ विश्वको दोस्रो प्रदूषित शहर

सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फागुनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ ।

अमेरिकाको 'द नेशनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन' (नासा) को वेबसाइटको तथ्याङ्कअनुसार आज देशका विभिन्न एक सय ३० ठाउँमा डढेलो लागिरहेको छ ।

केही दिनदेखि नेपालमा सुक्खा बढिरहेको छ, तीन दिनयता वन डढेलाे पनि बढेको छ, हिजो पनि एक सय पाँच ठाउँका वनमा डढेलो लागेको थियो । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले डढेको झन् बढ्ने जोखिम छ ।

स्थानीय वायुको प्रभावका कारण कतै कतै पानी परे पनि देशभरकै डढेलो निभाउने गरी पानी पर्न अझै केही दिन कुर्नुपर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले अझै एक हप्तासम्म वर्षाको सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताए । तत्काल ठूलो वर्षा नहुने भएकाले सुक्खा बढ्ने र तातो हावा चल्ने सम्भावना छ। यसले डढेलो बढाउन सक्ने पौडेलको भनाइ छ ।

आगलागीका कारण वनस्पति र जीवजन्तुको विनाश हुनुका साथै वायु प्रदूषण पनि निकै बढेको छ ।

अहिले काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहर बनेको छ । थाइल्यान्ड पहिलो नम्बरमा छ । प्रदूषण बढ्दा विशेष गरेर श्वासप्रश्वासको समस्या बढ्ने तथा आँखा र छालामा समस्या देखिने गरेको छ ।

एजेन्सी

Comments

Back to top