वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

शाही कर्णालीमा कांग्रेस संसदीय दलका नेता हुन् । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् ।

रोल्स रोयस ट्रेन्ट ७७२ बी इन्जिनसहितको एयरवसको ३३०-२०० जहाज खरिद भएको थियो । वाइडबडी जहाज खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरित रहेको अख्तियारको ठहर छ ।

निगमले वाइडबडी विमान निर्माण कम्पनी एयरबसबाट सोझै नकिनेर बिचौलिया कम्पनी मार्फत किन्नुले सुरूमै यो सम्झौतामाथि प्रश्न उठेको थियो ।

२०७३ पुसमा निगमले अमेरिकाको एएआर कर्प, जर्मनीको जर्मन एभिएसन क्यापिटल र पोर्चुगलको हाइफ्लाई एरोस नामक कम्पनीहरू मिलेर बनेको समूहलाई दुइटा वाइडबडी खरिदका लागि छनोट गर्यो‍ ।

यसमध्ये एउटा कम्पनीको नेपालका सरकारी निकायहरूसँग पहिल्यैदेखि सम्बन्ध रहेको पाइएको छ । एजेन्सी

Comments

Back to top