बेलारूससँग व्यापार सम्झौता अन्त्य गर्दै युक्रेन

युक्रेनले बेलारुससँगको स्वतन्त्र व्यापार सम्झौता अन्त्य गर्न खोजेको छ । युक्रेनको सरकारले २०२२ फेब्रुअरीमा सुरु भएको युक्रेनमा रुसको आक्रमणलाई समर्थन गर्ने बेलारुससँगको स्वतन्त्र व्यापार सम्झौता खारेज गर्ने प्रस्ताव संसद्मा गरेको युक्रेनका क्याबिनेट मन्त्री तारास मेल्निचुकले सोमबार बताएका छन् । सम्झौता रद्द गर्नुपर्ने परिस्थिति सिर्जना हुनुको कारण युक्रेनविरुद्ध बल प्रयोगमा बेलारुस गणतन्त्रको संलग्नतालाई लिइएको छ ।

सरकारले सन् १९९२ डिसेम्बरको स्वतन्त्र व्यापार सम्झौता र सन्धिसँग सम्बन्धित दुई प्रोटोकल खारेज गर्ने प्रस्ताव राखेको पनि मन्त्री मेल्निचुकले टेलिग्राम सन्देशमा बताएका छन् । यसअघि रुसको आक्रमणपछि युक्रेनले मिन्स्कसँगको व्यापारिक सम्बन्ध स्थगित गरेको थियो । युक्रेनी कानुनअनुसार अन्तर्राष्ट्रिय सम्झौता संसद्बाट समाप्त हुनुपर्छ ।

सन् १९९१मा सोभियत संघको पतनपछि, बेलारुस युक्रेनको प्रमुख व्यापारिक साझेदारहरूमध्येको एक थियो । जसले कीभलाई महत्वपूर्ण मात्रामा इन्धन र मलहरू आपूर्ति गर्दै आएको थियो ।

Comments

Back to top