१७ वर्षयताकै उच्च विन्दुमा युरेनियमको मूल्य

आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य शुक्रबार करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ ।

आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७ पछि पहिलो पटक प्रति पाउण्ड अर्थात् करिब ४५३ ग्रामको ८५.७५ डलर पुगेको छ ।

आणविक ऊर्जामा नयाँ चासोको कारण मागमा भएको वृद्धि र युक्रेनमा रूसको आक्रमणपछि तेल र ग्याँस आपूर्तिको बारेमा डरको कारण पनि यो मूल्य वृद्धि कारकहरूको संयोजनको परिणाम हो ।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०२१ मा आणविक ऊर्जाबाट करिब ७० प्रतिशत विद्युत् उत्पादन गर्ने फ्रान्सजस्ता आणविक ऊर्जामा अत्यधिक निर्भर मुलुकका लागि उच्च मूल्यले टाउको दुखाइको विषय बन्नेछ ।

फ्रान्स, बेल्जियम, बेलायत र रोमानियाले हालै धेरै अवरूद्ध पावर प्लान्टहरूको सञ्चालन र विस्तारको लागि अनुमति दिएका छन् । 

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको पब्लिक युटिलिटीज कमिसन (सीपीयूसी) ले बिहीबार लस एन्जलस नजिकैका दुई रिएक्टरको आयु पाँच वर्ष थप्नु स्वीकृति दिएको छ ।

विशेष गरी चीनमा नयाँ परियोजनाहरू पनि सुरु गरिएका छन् । चीनमा २५ रिएक्टरहरू निर्माणाधीन छन् । भारत, टर्की र इजिप्टमा पनि नयाँ परियोजनाहरूको उल्लेख्यरूपमा वृद्धि भएको छ ।

आणविक उद्योग अनुसन्धान फर्म युएक्ससीका अध्यक्ष जोनाथन हिन्जेका अनुसार आणविक ऊर्जाको बढिरहेको मागलाई आपूर्तिले सम्बोधन गर्न सकिरहेको छैन । 

Comments

Back to top