तीन कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

तीन कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मल्टीपर्पस फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट र अरुण काबेलीको  हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो।

मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ।

फाइनान्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ३५ कित्ता शेयर निष्काशन गरेको हो। यस अनुसार फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ५० प्रतिशत हकप्रद शेयर, आज (भदौ ३१ गते) बैंकिङ्ग समयपश्चात बन्द हुने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

त्यस्तै, अरुण काबेलीले गत भदौ ११ गतेबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको छ। 

 

Comments

Back to top