टर्कीमा राष्ट्रपति चुनाव : पहिलो चरणमा राष्ट्रपति एर्दोगानको अग्रता, मे २८ मा दोस्रो चरणको निर्वाचन
टर्कीमा मे २८ मा हुने राष्ट्रपति पदको दोस्रो चरणको निर्वाचनका लागि तयारी भइरहेको छ । आइतबारको प्रारम्भिक चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेपछि यो निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दैछ।
सोमबार अनादोलु एजेन्सीले दिएको अनौपचारिक नतिजाले वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगानले ४९.४२ प्रतिशत मत प्राप्त गरी चुनावी दौडमा अग्रता लिएका छन् भने उनका प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु ४४.९५ प्रतिशत मत पाएका छन् । हालसम्म ९९.३८ प्रतिशत मतगणना भएको छ । अनाडोलुका अनुसार तेस्रो उम्मेदवार सिनान ओगानले ५।२ प्रतिशत मत प्राप्त गरेका छन् ।
सोमबार बिहान आफ्ना समर्थकहरूसँग बोल्दै एर्दोगानले आफ्नो स्पष्ट नेतृत्व हुने विश्वास व्यक्त गरेका छन् ।
तर विपक्षी दलका उम्मेदवार केमाल किलिचदारोग्लुले भने एर्डोगानलको सो विश्वासले मूर्तरूप नलिने बताएका छन् । उनले एर्दोगानको सत्तारुढ दलले मतगणना र परिणाम सार्वजनिक गर्न जानाजानी ढिलाइ गरेको आरोप लगाएका छन् ।
Comments