भारतीय विमानमा बम राखिएको भन्दै यो वर्ष झन्डै एक हजार पटक धम्की प्राप्त

यो वर्ष भारतीय एअरलाइन्समा झन्डै एक हजार पटक बमको धम्की आएको छ । यो वर्षको नोभेम्बर १४ सम्म भारतका एअरलाइन्स र विमानस्थलमा बम राखेको भन्दै ९ सय ९९ पटक नक्कली धम्की प्राप्त भएको देशका उप–नागरिक उड्डयनमन्त्रीले संसद्लाई बताएका बीबीसीले जनाएको छ ।

यो गएको वर्ष प्राप्त धम्कीभन्दा झन्डै १० गुणाले बढी रहेको उप–नागरिक उड्डयनमन्त्री मुरलीधर मोहलले बताउनुभएको छ । अक्टोबरको अन्तिम दुई हप्तामा ५ सयभन्दा धेरै पटक धम्की प्राप्त भएको खबरमा उल्लेख छ ।

बम राखेको भन्दै धम्की आउने क्रम बढेसँगै भारतीय एअरलाइन्सहरूको उडान तालिका अस्तव्यस्त बनेको थियो, हवाई सेवामा व्यापक अवरोध उत्पन्न भएको थियो । पछिल्ला धम्कीहरू सबै झुटा रहेका र भारतको कुनै पनि विमानस्थल र विमानमा खतरा नभेटिएको उप–नागरिकमन्त्री मोहलले भने । भारतीय प्रहरीले यी घटनामा दुई सय ५६ वटा उजुरी दर्ता गरेको र १२ जनालाई पक्राउ गरेको बीबीसीको खबरमा उल्लेख छ ।

सन् २०१४ र २०१७ का बीचमा विमानस्थलहरूमा बम राखिएको भन्ने एक सय २० वटा धम्की वा सूचना प्राप्त भएका भारतीय अधिकारीहरूले बताएका छन् । तीमध्ये आधाजति दिल्ली र मुम्बईजस्ता भारतका ठूला विमानस्थल लक्षित थिए ।

नागरिक उड्डयन मन्त्रालयका अनुसार गएको वर्ष भारतमा १५ करोड जनाभन्दा धेरै यात्रुले आन्तरिक उडान गरेका थिए। देशभरि ३३ अन्तर्राष्ट्रियसहित सञ्चालनमा रहेका एक सय ५० वटा विमानस्थलबाट दैनिक तीन हजार उडान हुने गर्छन् ।

एजेन्सी

Comments

Back to top