नेपाल-भारतको दशगजा क्षेत्र खाली गराउन सीमावर्ती प्रशासकबीच भयो सहमति

भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् ।

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो ।

बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए ।

बैठकपश्चात् जानकारी दिँदै किसनगञ्जका जिल्ला मजिस्ट्रेट शास्त्रीले दुवै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताए। उनले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरूको खोजी गरी यथास्थानमा पुनःस्थापना गर्नेसमेत सहमति भएको जानकारी दिए।

यसैगरी, बैठकमा नेपाली टोलीको नेतृत्व गर्नुहुने मोरङका प्रमुख जिल्ला अधिकारी यादवले दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच १४ वटा विषयमा सौहार्दरूपमा छलफल भएको बताए। उनले हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव तस्करी, चोरी निकासीलगायतका महत्त्वपूर्ण विषयमा नियन्त्रणका लागि भारतीय पक्षलाई नेपालका तर्फबाट आग्रह गरिएको जानकारी दिए ।

Comments

Back to top