राष्ट्र बैंकद्वारा सेयर धितो र रियल स्टेट ऋणमा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने सेयरसहित विभिन्न प्रकारका कर्जाको जोखिम भार बढाएको छ। राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २०७९ साल असार महिनादेखि लागू हुने गरी विभिन्न प्रकारको कर्जाको जोखिम भार बढाएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिप्टलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा सेयर धितो कर्जाको जोखिम भारमा बढाएको छ। जसअनुसार अब व्यक्तिगत ओभरड्राफ्ट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा, व्यक्तिगत अटो लोन, रियल स्टेट कर्जा, जग्गा प्लटिङसम्बन्धी कर्जा र सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ। त्यस्तै ट्रस्ट रिसिप्ट कर्जाको जोखिम भार १२० प्रतिशत कायम गरिएको छ।

राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिप्टलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने जानकारी गराएको थियो। सोही व्यवस्था कार्यान्वयनका लागि बुधबार राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो।

Comments

Back to top