सिक्टाबाट सत्र हजार हेक्टरमा सिँचाइ, पानीको समस्या समाधान
गत वर्षदेखि नै सिक्टाको मूल नहरमा पानी छोडिँदा कोहलपुर–६, रझेनाका मलिराम थारूलाई खेतीमा पानीको कुनै समस्या भोग्नुपरेको छैन । आफ्नो खेतको छेउमा नै मूल नहर बगेकाले आवश्यक पानी तानेर बाह्रै महिना खेती गरिरहेको उनले बताए । यसअघि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै थारूले अब त जतिबेला जुन खेती मन लाग्यो, त्यो गर्न सकिने बताए ।
दुई साताअघिदेखि नै कोहलपुर–१५ का खड्कबहादुर खड्काले मज्जाले रोपाइँ गरिरहेका छन् । पानी नपरे पनि उनलाई विगतको जस्तो समस्या छैन । खेतको छेउबाटै सिक्टाको नहर बगेकाले समयमै रोपाइँ गरिएको बताए । थारू र खड्का मात्र नभई सिक्टाको पश्चिमी मूल नहरको ४५ किलोमिटर र पूर्वी नहर राजकुलोको १२ किलोमिटर वरिपरिका किसानले सिँचाइ सुविधा प्रयोग गरिरहेका छन् । यसले गर्दा अहिले बाँकेका किसानलाई आकाशे पानीकै भर परेर खेती गर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहर र पूर्वी नहरको केही क्षेत्रमा पानी दिएपछि अहिले सो नहरकै कारण १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजना नेपालगञ्जका निर्देशक डा. सन्तोष कैनीले जानकारी दिए । उनले आयोजनाको नहरमा पानी छोडिएपछि बाँके जिल्लाको १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र ती क्षेत्रमा केही समयअघिदेखि नै धमाधम रोपाइँ भइरहेको बताए । अहिले यस क्षेत्रका अधिकांश किसानले वर्षा नकुरेर नै खेती गरिरहेको आयोजनाले जनाएको छ । अहिले सिक्टाको नहरमा १० क्युबेक पानी छोडिएको छ ।
Comments