अर्थतन्त्र सङ्कटमा छैन तर आयातमा भने कडाइ गर्नुपर्छ : अर्थविद्

विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाब थेग्न आयात घटाउनुपर्ने अर्थविद्हरूले सुझाव दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नालिजम स्टडिजले राजधानीमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था विषयक’ छलफल कार्यक्रममा अर्थविज्ञहरूले मुलुकको आर्थिक अवस्था बिग्रिसकेको नभए पनि यसप्रति सजग रहन आग्रह गरेका हुन् । बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा कमी आएकाले अत्यावश्यक बस्तु र सेवाबाहेकका आयातमा कडाइ गर्नुपर्नेमा अर्थविज्ञहरूले जोड दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले मुलुकको अर्थतन्त्र सङ्कट अवस्थामा नरहेको बताए । विदेशी मुद्रा सञ्चिति घटे पनि मुलुकको आर्थिक अवस्था श्रीलङ्काजस्तो नहुने उनको दाबी छ । नेपालको विदेशी ऋण धेरै नभए पनि बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा असर पर्न सक्ने हुँदा स्थानीय उत्पादन वृद्धि गरी निर्यातमा जोड दिनुपर्ने उनले बताए ।

“सिमेन्टमा मुलुक आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुगेका छौँ । बिजुली निर्यात सुरु भइसकेकाले विदेशी लगानी भित्र्याएर आन्तरिक उत्पादन बढाउन सकिन्छ । बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएकाले उत्पादन बढाएर बढ्दो आयातलाई कम गर्न सकिन्छ,” उनले भने । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले व्यापार घाटा बढिरहेको र आयात बढ्दै गएर विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने बताए । विद्यमान चुनौती समाधानका लागि अत्यावश्यकबाहेकका वस्तु आयातमा कडाइ गर्नुपर्नेमा उनले जोड दिए ।

विदेशी मुद्राको सञ्चिति साढे छ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने हुनु नराम्रो अवस्था नरहेको धारणा व्यक्त गर्दै पूर्वगभर्नर क्षेत्रीले तर आयात बढेको अनुपातमा विदेशी मुद्रा आर्जन गर्ने स्रोत नबढेकाले यसप्रति सचेत हुनुपर्नेमा उनले जोड दिए ।“सरकारमा नीतिगत स्थायित्व छैन । बेरोजगारीका कारण युवा विदेशमा गएका छन् तर स्वदेशमा काम गर्ने जनशक्ति अभाव रहेको छ,” उनले भने ।

Comments

Back to top