तेल उद्योगद्वारा भारतीय ब्रान्डका तेल मिसावट गरी खाने तेल उत्पादन
कलैयामा रहेको खाने तेल उद्योगले भारतीय ब्रान्डका तेल मिसावट गरेर बेच्ने गरेको पाइएको छ ।
कलैया उपमहानगरपालिका–१, बजार टोलमा सञ्चालित केशरी तेल उद्योगले भारतीय ब्रान्डको खाने तेल मिसावट गरिरहेको हो । सो उद्योगका सञ्चालक ध्रुवप्रसाद केशरीले भारतीय रानी ब्रान्डको तेलमा झाँस (तेलबाट आउने कडा गन्ध, राग) बढी भएकाले आफ्नो उद्योगबाट उत्पादित खाने तेलमा मिसाएर बेच्ने गरेको स्वीकार गरे ।
एक बोरा तोरीमा चार-पाँच प्याकेट रानी तेल मिसाएर पेल्ने गरेको र त्यही उत्पादन बजारमा पठाउने गरेको सञ्चालक केशरीले स्वीकार गरे ।
यो उद्योगले गुगल ब्रान्डको तोरी तेल उत्पादन र बिक्री वितरण गर्दै आएको छ । दैनिक ५०–६० लिटर खाने तेल स्थानीय उपभोक्तालाई बिक्री गरिहेको केशरीले जानकारी दिए । गुगल ब्रान्डको खाने तेलको गुणस्तर जाँच भए वा नभएकोबारे उनले स्पष्ट पारेनन् । कलैया बजारमा आधा दर्जन घरेलु उद्योगले भारतीय तेल मिसाएर उत्पादन गरेको तेल बेच्ने गरेका छन् तर ती उद्योगका उत्पादनको गुणस्तरबारे गुणस्तर मापन गर्ने निकाय नै गम्भीर बन्न सकेका छैनन् ।
Comments