मौद्रिक नीति साउनको पहिलो साता जारी गरिने

नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तीव्र तयारीमा छ । चालु आर्थिक वर्ष सकिन केहि दिन बाँकी रहँदा राष्ट्र बैंक मौद्रिक नीतिको तीव्र तयारीमा जुटेको हो । यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी आर्थिक वर्षको जेठ महिनाको मुलुकको आर्थिक अवस्थाको तथ्यांक जोड घटाउमा व्यस्त छन् ।

यसैबीच राष्ट्र बैंकले साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैक पोखराले आयोजना गरेकोे बैंकनोट शेरडिङ्ग एण्ड ब्रिकेटिङ्ग सिस्टम बारे अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष २०७९/०८० को मौद्रिक नीति साउनको पहिलो साता ल्याउने गरी तयारी भइरहेको बताए।

उनले भने, “मौद्रिक नीति साउनको पहिलो हप्ताभित्रमा सार्वजनिक गर्ने तयारीमा हामी लागेका छौँ, जुन विगतमा भन्दा केही छिटो पनि हो, पहिलो हप्ता भन्दा पछि नपुर्याउने प्रयासमा हामी छौँ ।”

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्र बैंकले सुझाव मागिरहेको छ ।

बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने राष्ट्र बैंकलाई चुनौती छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती समेत राष्ट्र बैंकलाई छ ।

मौद्रिक नीतिको खाका कोर्नका लागि गभर्नर अधिकारीले आफ्नै प्रमुख संलग्नता हुने गरी मौद्रिक नीतिको तयारी गर्नुभएको थियो । जेठ १७ गतेदेखि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी सुझावहरु लिन थालेको छ । आएका सुझावहरुलाई समेत राष्ट्र बैंकले केलाउने र सरोकारवालाहरुसँग छलफल गरिसकेको छ ।

Comments

Back to top