११ महिनामा ३९ अर्बको स्मार्टफोन आयात, महँगो फोनमा नेपालीको रुचि !

नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति पनि बढ्दै छ ।

चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन–जेठ)मा करिब ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा ३८ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । यसमध्ये ८ लाख २७ हजार वटा महँगा स्मार्ट फोन हुन् ।

११ महिनामा ५६ लाख ३७ हजार थान मोबइल सेट आयात भएको छ । जसबाट सरकारले ६ अर्ब १७ करोड राजस्व पनि उठाएको छ ।

गत आर्थिक वर्षको यस्तै अवधिमा ३४ अर्ब १४ करोड मूल्यका ६५ लाख ५४ हजार थान सेट आयात भएको थियो । त्यसबाट सरकारले ५ अर्ब ४० करोड राजस्व उठाएको थियो ।

तर, यस वर्षको समीक्षा अवधिमा मोबाइल सेटको संख्या ९ लाखले घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब साढे ५ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाउँछ । गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको हो । महँगा फोनको आयात बढ्दा समग्र संख्या घट्दा समेत फोन किनेबापत बाहिरिने विदेशी मुद्राको दर बढेको छ ।

नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलका सेटको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेकाले उत्पादन प्रभावित हुँदै आएको छ ।

Comments

Back to top