करको दर घटबढ गर्ने अधिकार आफ्नो भएको र राजीनामा नदिने अर्थमन्त्रीको भनाई
अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको बताएका छन । राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले यस्तो जवाफ दिएका हुन ।
जवाफ दिदै अर्थमन्त्री शर्माले भने, “करका दर बढाउँदा देश र जनतालाई हित गर्यो कि गरेन भन्ने मुख्य हो । बढाउनै पाइँदैन भन्ने होइन । करको दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो।”
कसैले राजीनामा माग्दैमा राजीनामा नहुने भन्दै अर्थमन्त्री शर्माले बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यहीं गर्नुपर्छ भन्ने नभएको बताए ।
“सही र गलत भोलि इतिहासले पुष्टि गर्नेछ, मैले गरेका निर्णयप्रति म जवाफदेही छु,” अर्थमन्त्री शर्माले भने ।
उनले बिजुली गाडीका सन्दर्भमा महँगा गाडीमा सञ्चिति डलर बढी जाने भएकाले केही कर बढाइएको बताए । “सस्ता बिजुली गाडी पर्याप्त छन् । ठूला गाडीमा डलर पनि बढी बाहिर जाने भएकाले थोरै मात्र राजश्व बढाइएको हो,” उनले भने ।
Comments