लघुवित्त कम्पनीहरुको नाफा ३६.७२ प्रतिशतले वृद्धि

लघुवित्त कम्पनीहरुको नाफामा उल्लेख्य वृद्धि भएको छ । पुस मसान्तसम्मको तथ्यांकलाई हेर्दा लघुवित्त कम्पनीहरुले ६ अर्ब ६ करोड ८९ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन यो अघिल्लो वर्षको भन्दा ३६.७२ प्रतिशतले उच्च हो । अघिल्लो वर्ष यसैअवधिमा लघुवित्त कम्पनीहरुले समग्रमा ४ अर्ब ४३ करोड ८९ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । यो हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने ४८ लाघुवित्तको नाफा हो ।

यस्तै एक वर्षको अवधिमा लघुवित्त कम्पनीको खुद नाफालगायतका सूचकहरुमा उल्लेख्य सुधार भएको छ । चुक्ता पुँजी, खुद ब्याज आम्दानी र खुद नाफालगायत प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि रहेको छ । धेरै जगेडा कोष स्वावलम्बन लघुवित्तको रहेको छ भने प्रतिसेयर आम्दानीमा फरवार्ड माइक्रोफाइनान्स अगाडि छ ।

दोस्रो त्रैमाससम्ममा लघुवित्त कम्पनीहरुको समग्रमा चुक्ता पुँजी २६.३३ प्रतिशतले बढेर २७ अर्ब ४७ करोड ६९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी २१ अर्ब ७४ करोड ९७ लाख १७ हजार रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको रहेको छ ।

यसको पुँजी २७ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । निर्धन उत्थानको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ छ । अरु ८ कम्पनीको पुँजी १ अर्ब रुपैयाँ माथि छ । एक वर्षको अवधिमा ४२ कम्पनीको पुँजी बढेको छ भने ६ कम्पनीको पुँजी गत वर्षकै यथावत रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा लघुवित्त कम्पनीहरुको समग्रमा जगेडा कोष २७.६५ प्रतिशतले बढेर २२ अर्ब ५९ करोड ३० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुको जगेडा कोषमा १७ अर्ब ६९ करोड ९२ लाख ६९ हजार रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष स्वावलम्बन लघुवित्तको रहेको छ ।

यसको जगेडा कोष १७.५३ प्रतिशतले वृद्धि भएर १ अर्ब ८० करोड ३ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अन्य ८ कम्पनीको जगेडा कोष पनि १ अर्ब रुपैयाँभन्दा धेरै छ । यसअवधिमा ४१ कम्पनीको जगेडा कोष बढेको छ भने ७ कम्पनीको जगेडा कोष घटेको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुले १३ अर्ब ८८ करोड ४ लाख २२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षकोभन्दा ३०.२६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीहरुले १० अर्ब ६५ करोड ५९ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसको खुद ब्याज आम्दानी १३.९१ प्रतिशतले बढेर १ अर्ब १२ करोड ९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा ४६ कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने २ कम्पनीको घटेको छ ।

Comments

Back to top