विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता

इमान्दार प्रयत्न तथा योजनाबद्ध प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

प्राधिकरणका अनुसार सो अवधिमा वितरणतर्फको विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित राख्न सफल भएको छ । सामान्य हिसाबमा एक प्रतिशत बराबरको चुहावट नियन्त्रण गर्दा झण्डै रु एक अर्ब बराबरको आर्थिक लाभ हुन जाने प्राधिकरणको बुझाइ छ ।

नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको योजनावद्ध अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.०९ प्रतिशत विन्दुले घटाएको छ । गत वर्ष वैशाखसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.५० प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

Comments

Back to top