वैदेशिक रोजगारीमा एजेन्टबाट ठगिने धेरै, अदालतमा ७२ मुद्दा दायर
वैदेशिक रोजगारीमा जाने युवा ठगिने गरेका छन् । वैदेशिक रोजगारीमा जाने क्रममा गाउँघरकै एजेन्टबाट ठगिने युवाको सङ्ख्या धेरै रहेको छ । यसबाहेक वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन् ।
वैदेशिक रोजागर विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिना वा जेठ महिनासम्म वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार १८१ वटा उजुरी परेका छन्, जसमा ५९१ वटा संस्थागततर्फ (म्यानपावर कम्पनी)का छन् भने ५९० वटा व्यक्तिगततर्फका छन् । सो अवधिमा ती उजुरीबापत ५८ करोड ८३ लाख ३९ हजार ५४८ रुपियाँ माग दाबी गरिएको छ, जसमा संस्थागतर्फत १५ करोड ५५ लाख ७१ हजार रुपियाँ माग दाबी गरिएको छ भने व्यक्तिगततर्फ ४१ करोड ४१ लाख १८ हजार रुपियाँ माग दाबी गरिएको छ ।
विभागका महानिर्देशक शेषनारायण पौडेलले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराए । उनले भने, “संस्थागत उजुरीमा प्रमाण भएमा कारबाही गर्न सकिन्छ र धेरैलाई कारबाही भएको छ तर व्यक्तिगत उजुरी अदालतमा जाने हुनाले यसको प्रक्रियामा पनि लामो भएकाले समय लाग्छ ।”
वैदेशिक रोजगारीका क्रममा ठगीमा परे भनेर आउने उजुरी सबैभन्दा बढी संस्थागततर्फका भए पनि ठगीको रकम तुलना गर्दा व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । विभागका महानिर्देशक पौडेलले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको बताए । व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सलटेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उनको भनाइ छ ।
विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेकोे छ । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरमा बढी जाने गरेको छ ।
अदालतमा ७२ वटा मुद्दा दायर
विभागका अनुसार आव २०७८/७९ मा ७२ वटा मुद्दा अदालतमा दायर भएका छन्, जसमा व्यक्तिगत ठगीविरुद्धमा ६५ वटा रहेका छन् भने कन्सलटेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका सातवटा छन् । अदालतमा दायर भएका मुुद्दाको १९ करोड ८५ लाख ४८ हजार बिगो रकम माग दाबी भएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा विभागमा आएका एक हजार १८१ उजुरीमध्ये ३०९ वटा मिलापत्र गराएको छ, जसमा संस्थागतर्फको २०६ वटा र व्यक्तिगतर्फको १०३ वटाको मिलापत्र भएका छन् ।
सोही अवधिमा मिलापत्रबाट १५ करोड ३३ लाख ३३ हजार ६९५ रुपियाँ पीडकबाट पीडितलाई भराएको छ । जसमा व्यक्तिगततर्फको आठ करोड छ लाख ३२ हजार ६९१ रुपियाँ मिलापत्रबापत भराएको छ भने सात करोड २६ लाख एक हजार संस्थागतबाट धरौटीबाट कट्टा हुनेगरी भराएको विभागले जनाएको छ ।
Comments