मर्स्याङ्दी कोरिडोरको अवरोध हट्यो, प्रसारण लाइन छिट्टै तयार हुने !
स्थानीय अवरोध हटेपछि मर्स्याङ्दी कोरिडोरको उदिपुरदेखि मध्यमर्स्याङ्दी स्विचयार्डसम्मको प्रसारण लाइन अब एक महिनाभित्र तयार हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय विवाद समाधान गरी दोर्दी कोरिडोरका आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा ल्याउन लागेको हो ।
करिब छ किलोमिटर क्षेत्रमा तार तान्न बाँकी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार एक महिनामा दोर्दी कोरिडोरमा अब राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र लिवर्टी इनर्जीको अपर दोर्दी ‘ए’को २५ मेगावाटसहित ६० मेगावाट विद्युत् अब प्रसारण लाइनमा आउने घिसिङले जानकारी दिए।
लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनमार्फत उदिपुर सबस्टेसनमा जोडिन्छ । उदिपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्विचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । दोर्दी ‘ए’को विद्युत् ल्याउन दोर्दीको कीर्तिपुरबाट उदिपुरसम्म ल्याउन भने अझै समस्या छ । गत वर्षको बाढीले बगाएका प्रसारण लाइनका दुईवटा पोल ठड्याउन अझै बाँकी छ ।
मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका चारवटा सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदिपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माण भइरहेको छ । खुदी सबस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसनको निर्माण सुरु भएको छ । भौगोलिक रूपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्नेछ ।
नयाँ भरतपुर र उदिपुर सबस्टेसनमा क्रमशः २२०-१३२ केभी, ३२० एमभीए र २२०-१३२ केभी, १६० एमभीए तथा १३२-३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मर रहने छन् । दुवै सबस्टेसनका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणहरूको जडान भइरहेको छ । खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०-१३२ केभी, १६० एमभीए तथा १३२-३३ केभी, ५० एमभीए र २२०-१३२ केभी, १०० एमभीए तथा १३२-३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । खुदी सबस्टेसनको मुख्य सिभिल संरचना निर्माणाधीन छन् ।
मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपियाँ छ ।
Comments