विश्व बैंकको नेपालमा हालसम्म तीन अर्ब डलर बराबरको सहयोग !

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका छन् ।

“नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ,” उनले भने । विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।

“विश्व बैंकसँगको बित्तीय सहकार्यमा संचालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गनृ हामी सबैको प्रयास रहनेछ,” मन्त्री शर्माले भने। सो अवसरमा आर्थिक बर्ष ०७९–८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराए ।

“मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बन्चितिकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुको रुपमा उल्लेख गरेको छु,” उनले भने ।

सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताईन् । उनले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि बित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराईन्।

Comments

Back to top