म्यानपावर कम्पनी अल अस्मासको कारोबार रोक्का !
वैदेशिक रोजगार विभागले काठमाडौँ अल अस्मास नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका सबै कारोबार रोक्का गरी अनुसन्धान थालेको छ । उक्त म्यानपावर कम्पनीले कुवेतको केएफसी कम्पनीमा रोजगारीमा पठाइदिने भन्दै मागपत्र प्रमाणीकरण नगरीकनै अन्तर्वार्ता लिएको पाइएपछि विभागको आकस्मिक अनुगमन टोलीले कारोबार रोक्का गरी कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई विज्ञापनसमेत नगरी अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले अनुगमन गरेको थियो ।
वैदेशिक रोजगार नीतिअनुसार गन्तव्य देशको रोजगारदाता कम्पनीबाट आएको मागपत्र सम्बन्धित देशको दूतावासले प्रमाणीकरण गर्नुपर्छ । दूतावासबाट प्रमाणीकरण भएको मागपत्रको विभागबाट स्वीकृति लिएर राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन सार्वजनिक गर्नुपर्छ । उक्त कम्पनीका सञ्चालक तेजेन्द्र महत र अनिता महतले माथिका कुनै प्रक्रिया पूरा नगरी अन्तर्वार्ता लिएको पाइएको छ ।
विभागको आकस्मिक अनुगमन टोली बुुधबार साँझ म्यानपावर कम्पनीमा पुग्दा उक्त म्यानपावरले ११० जना महिला र ४० जना पुुरुष गरी १५० जनाको छनोटका लागि भन्दै एक सयभन्दा बढीको अन्तर्वार्ता लिइसकेको कागजात फेला परेको थियो ।
विभागका निर्देशक संयोजक डम्बर सुनुवारले कुवेत केएफसी कम्पनीमा रोजगारीका लागि जान अन्तर्वार्तामा सहभागी स्थानीय एजेन्टमार्फत उक्त म्यानपावरमा पुगेको अनुुगमनका क्रममा पाइएको जानकारी दिए। उनका अनुसार रोजगारदाता कम्पनीबाट आएको माग तथा सरकारसँग पूर्वस्वीकृति गराएर मात्रै अन्तर्वार्ता लिनुपर्नेमा उक्त म्यानपावरले अन्तर्वार्ता लिइरहेको फेला परेको छ ।
विभागका निर्देशक सुनुवारले म्यानपावरले कानुनी प्रक्रियाविपरीत काम गरेको पाइएकाले उक्त म्यानपावरको सम्पूर्ण कारोबार बिहीबारदेखि नै रोक्का गरी थप कारबाहीका लागि कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । अनुगमनका क्रममा उक्त म्यानपावरले २०–२५ जनाको त स्वास्थ्य परीक्षण गराइसकेको फेला परेको छ । वैदेशिक रोजगार नीतिअनुसार अन्तर्वार्तामा सफल भएपछि मात्र स्वास्थ्य परीक्षण गर्न पठाउने व्यवस्था छ ।
सुनुवारले माग नै नआई अन्तर्वार्ता लिएको अल अस्मास कम्पनीलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाही हुने बताए । वैदेशिक रोजगार ऐनका अनुसार वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने म्यानपावरको इजाजत रद्दसमेत हुन सक्ने उल्लेख छ ।
Comments