मस्याङ्दी जलविद्युत केन्द्रको बाँधबाट १८ घर परिवार डुबानको चपेटामा

वर्षायामसँगै मस्याङ्दी जलविद्युत केन्द्रको बाँध पानीको सतह धेरै हुँदा १८ घर परिवार प्रभावित भएका छन्। बाँध नजिक रहेका आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ र २ को पृथ्वीराजमार्गसँग जोडिएका बासिन्दा प्रभावित भएका हुन्। वडा नम्बर १ को १४ घरलाई असर पारेको र वडा नम्बर २ को ४ घरपरिवारको जमिनलाई नोक्सान पुर्‍याइसकेको स्थानीय बासिन्दाले बताएका छन्। स्थानीयले खतरायुक्त घर र जमिनको जग्गा अधिग्रहण गरी तुरुन्त उचित मुआब्जा दिनुपर्ने मागसमेत गरेका छन्।

बाँधमा पानी धेरै हुँदा सार्वजानिक जग्गा डुबान हुँदै व्यक्तिको जग्गासमेत कटान गर्न थालेकोले प्रभावित बनेको मस्र्याड्दी जल उत्पन्न प्रकोप संघर्ष समितिका अध्यक्ष बिष्णु पराजुलीले बताए। मानवीय क्षति हुने खतरा देखिएकोले जतिसक्दो चाँडो आयोजनाले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीयबासीले माग राखेको उनले बताए।

वडा नम्बर २ एक्लेमा १४ घर परिवार बाँधले गर्दा जोखिम परिसकेको वडा नम्बर २ मा विभिन्न व्यक्तिको ३६ रोपनी व्यक्तिगत जग्गा नदीले कटान गरेको अध्यक्ष पराजुलीले बताए।

“पर्खाल लगाएर बस्ती सुरक्षित गर्न केन्द्र प्रमुख बद्री फुँयाललाई पटक पटक आग्रह गरे पनि केन्द्रले बेवास्ता गरेकाले प्रभावित भएका छौं”, अध्यक्ष पराजुलीले भने। ग्याबिन जाली भरे पनि त्यसले काम नदीबहाव धकेल्न नसक्दा क्षति भएको सङ्घर्ष समितिको भनाइ छ।

समयमै उचित व्यवस्थापन नगरिए ठूलो मानवीय क्षतिको जोखिम भएको प्रभावित बासिन्दा सुन्दरबहादुर बानियाँले बताए। एक वर्ष अघि आएको बाढीले व्यक्तिको जग्गामा नोक्सान पुर्याएको बानियाँ बताउँछन्। गत वर्षको असार १५ गते विद्युत आयोजनालाई संरक्षणको लागि जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलन गर्नुपरेको समितिले जनाएको छ। प्रभावितको समस्या समाधान नभए बाँध खोल्न लगाएर विद्युत उत्पादन कार्य बन्द गर्ने, कर्मचारीलाई कार्यालयमा प्रवेश रोक, सडक आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ।

Comments

Back to top