लघुबीमा र लघुवित्तलाई तालमेल गरी गरिब किसानलाई समेट्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्शन शर्माले लघुवित्त र लघुबीमालाई तालमेल गरी दुबैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरीव एवम् साना किसानसम्म पुयाउन निर्देशन दिएका छन् । शर्माले अहिले भइरहेको लघुवित्त वित्तीय संस्थाकै संरचनालाई बीमाको दायरामा ल्याउनु पर्ने बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पनि गरिव न्युन आय भएका वर्गलाई समेट्न लघु बीमा कम्पनी स्थापना गरिने व्यवस्था गरेको छ । सोहि अनुसार सरकारले बीमा समितिलाई लघु बीमा कम्पनी स्थापनाका लागि बाटो खुला गरिदिएको हो ।

बीमा समितिले धेरै लामो समयदेखि लघुवित्त वित्तीय संस्थाको स्थापनाका लागि आवस्यक काम अगाडी बढाइरहेको छ । यसै सन्दर्भमा बीमा समितिले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री शर्माले छिट्टै लघु बीमा कम्पनीको लाइसेन्स खुला गर्ने संकेत गरेका छन् ।

शर्माले सोहि कार्यक्रममा ठूला टावरका साथै सरकारी र निजीक्षेत्रका संरचनाहरुको समेत बीमा गर्ने बताएका छन् । उनले कृषि तथा पशुपन्छी बीमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बीमा गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरु सङ्कलन गर्ने उद्देश्यले ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेटमा बीमा सहित पूँजी बजारलाई प्राथमिकता दिएको बताए ।

देशका सबै क्षेत्र र बर्गलाई समेट्ने गरी समावेशीकरणमा जोड दिने, बीमा कम्पनीले नाफामुखी मात्र नहेरी सेवा सहितको उत्तरदायित्व बहन गर्ने र सचेतनापूर्वक ढङ्गे स्वतःस्फूर्तरुपले बीमा गर्ने अवस्था सिर्जना गर्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन, उनले निर्देशन दिए ।

अर्थमन्त्री शर्माले राष्ट्रिय पूँजी निर्माण र उत्पादनमा बीमालाई परिचालन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह गर्दै बीमा सूचना केन्द्र स्थापना गर्न र हरेक जिल्ला तथा पालिकामा बीमा सम्बन्धी शिक्षा एवम् चेतना फैलाउन बीमा सम्बन्धी तालिमप्राप्त जनशक्ति तयार गर्नुका साथै प्रविधि विकासमा समेत जोड दिन आग्रह गरेका छन् ।

साथै, उनले सरकारको मुख्य उद्देश्य गरीबी न्यूनीकरण भएकाले गरीबी न्यूनीकरणमा ठोस योगदान पुग्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन समेत निर्देशन दिए ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बीमालाई आम जनताले विश्वास गर्ने गरी सुरक्षित, व्यवस्थित र विश्वसनीयरुपमा अगाडि लगेमा मात्र नागरिकको हित हुने बताए ।

अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले बीमा क्षेत्रमा व्यवसाय र सेवाबीच सन्तुलन कायम गरी जेष्ठ नागरिक, विरामी र अपाङ्गता भएकाहरुलाई समेत बीमामा कसरी समेट्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्बद्ध सबै सरोकारवालाहरुको सुझाव र बीमा सम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन एवम् अभ्यास समेतका आधारमा राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार गरिएको जानकारी दिदै राष्ट्रिय बीमा नीति आएपछि सोही नीति अनुरुप प्रदेश र स्थानीय बीमा नीति तर्जूमा हुने विश्वास व्यक्त गरे ।

Comments

Back to top