असार महिनामा पनि निक्षेपको ब्याजदर नबढ्ने घोषणा
असार महिनामा पनि निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ । वाणिज्य बैंकहरुले माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन् ।
सहमति अनुसार वाणिज्य बैंकले एकवर्षको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । संस्थागत तर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरुले दिनेछन् । विदेशबाट रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।
वाणिज्य बैंकले ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर यथावत रहने भएको छ । बैंकहरुले माघदेखि निक्षेपमा ब्याजदर बढाएका छैनन् । माघदेखि रिन्यु गर्दा तथा नयाँ निक्षेपको ब्याजदर बढेको हुँदा बैंकहरुको बेसरेट भने असारमा बढेर आउने छ । यसले गर्दा कर्जाको ब्याजदर बढ्ने छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७८ वैशाखमा ६.८३ प्रतिशत रहेकोमा २०७९ वैशाखमा ९.३० प्रतिशत कायम भएको छ । २०७९ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.२५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ४.८१ प्रतिशत र ८.५३ प्रतिशत रहेका थिए ।
Comments