यामाहाको ‘आर १५’ बाइकका विशेषता !

यामाहाको सुविधासम्पन्न बाइक आर १५ एम आधिकारिक रूपमा नेपाली बजारमा लन्च गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको हो ।

यो यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ । एम र आर सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको यो बाइक मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक भएको बताइएको छ ।

नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।

आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको R15 M को मूल्य नेपाली बजारमा ५,७९,९००|- रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ । ‘रोड टू मोटोजिपी’ यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने अवसर पाउनेछन् ।

Comments

Back to top