स्वस्थ र प्लास्टिक रहित ‘पोसिलो ब्राण्ड’
छ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालन गरिरहेका छन् । १८ वटा भैँसी र एउटा गाई पालिरहेका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्छन्। घरपरिवारसँगै बसेर मलेसियाभन्दा राम्रो कमाइ भएपछि आगामी दिनमा यसै व्यवसायलाई नै विस्तार गर्ने योजना घिमिरेले सुनाए।
बाउबाजेकै पालादेखि पशुपालनलाई मुख्य पेसाका रूपमा अँगाल्दै त्यसैमा रमाइरहेका सङ्खुका दीपक हुमागाईंलाई जीविकोपार्जनकै लागि विदेशिने या वैकल्पिक पेसाको खोजीमा लाग्ने कुराप्रति कुनै मोह छैन ।
बुखेलका सन्तोष तिमिल्सिनाले पनि ११ वर्षदेखि १३ वटा भैँसी र तीनवटा गाई पालेका छन्। दैनिक ८० लिटरभन्दा बढी दूध उत्पादन गर्ने तिमिल्सिनाले दैनिक तीन धार्ने खुवा पनि बनाउँछन् भने अरू दूध बिक्री गर्दै आएका छन्।
दक्षिण ललितपुरका किसान पशुपालन र कृषिप्रति आकर्षित भएका छन् । ललितपुरको दक्षिणी क्षेत्र विशेषगरी बुखेल, सङ्खु दूध उत्पादनका लागि अगाडि छन् । देवीचौर, धुसेल, भट्टेडाँडा, मानिखेल, गोटीखेललगायतका क्षेत्रमा पनि पशुपालनका लागि राम्रो मानिन्छन् ।
चितवन र काभ्रेपछि सबैभन्दा बढी दूध उत्पादन गर्ने जिल्लाका रूपमा रहेको ललितपुर पशुपालन अभियानकै रूपमा अगाडि बढिरहेको छ । दूधबाट मात्रै गाउँमा वार्षिक करोडौँ रुपियाँ भित्रिने गरेको छ ।ललितपुर दूध उत्पादनका हिसाबले तेस्रो जिल्लाका रूपमा पर्छ । जिल्लाभर ६० वटा प्रारम्भिक सहकारी संस्थाले दूध सङ्कलन गर्छन् ।
विशेषगरी दक्षिण ललितपुर भैँसीको दूध उत्पादनका हिसाबले चिनिन्छ । दैनिक ७० देखि ८० हजार लिटर दूध उत्पादन हुने र यो क्षेत्रमा खुवाको बजार पनि राम्रो भएको कृषि सहकारी सङ्घ, ललितपुरका व्यवस्थापक उद्धवप्रसाद घिमिरेले बताए । उनको अनुभवमा पछिल्लो समय दूध उत्पादन बढेकै छ तर यसमा लाग्ने किसानको सङ्ख्या भने घटेको छ । खासगरी दूध सङ्कलन गर्न गाह्रो हुने क्षेत्रमा खुवा बनाउने गरिएको छ । ठूला दुर्लुङ, गिम्दी, आप्रा, प्युटारतिर खुवा बनाएर बिक्री गर्ने चलन छ ।
बाटोको पहुँच राम्रो पुगेको, सङ्कलन गर्न ढुवानीको अवस्था सहज भएका क्षेत्रमा दूध सङ्कलन गरिन्छ । बजार नजिक हुने स्थानमा दूध नै बिक्री हुन्छ, अलिक विकट ठाउँमा खुवा बनाएर बिक्री गरिएको उनी बताउँछन् । सङ्घले पकेट क्षेत्रको उत्पादन क्षेत्रमै चिस्यान केन्द्र स्थापना गरेको छ । किसानलाई गुणस्तर सुधारसम्बन्धी, पशुपालनको सीप र क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ ।
किसानको पोसिलो ब्राण्ड
दूध उत्पादनमा क्रियाशील ललितपुरका किसानले यसै वर्षदेखि ‘पोसिलो’ ब्रान्डमा दुग्धजन्य वस्तुको उत्पादन सुरु गरेका छन्, जुन सञ्चालनमा आएको छोटो समयमै लोकप्रिय बनेको छ । चापागाउँमा किसानकै सहभागितामा सञ्चालनमा ल्याइएको दूध प्रशोधन कारखानामा दही, दूध, पनिर, खुवा र मिठाई उत्पादन गरेर बजारमा पठाउने गरिएको सङ्घका व्यवस्थापक घिमिरेले जानकारी दिए ।
प्लास्टिक विस्थापन
दुग्ध क्षेत्रमा जति पनि भाँडाबर्तन प्रयोग हुन्छ, त्यसलाई प्लास्टिकरहित भाँडा प्रयोग गर्ने अभियान पनि सङ्घले चलाएको छ । आल्मुनियम मात्रै प्रयोग हुँदा दूधको गुणस्तरमा तलमाथि हुन पाएको छैन ।
Comments