गाजामा सामूहिक चिहान भेटिएको घटनाबारे स्वतन्त्र छानबिन गर्न राष्ट्रसङ्घको माग

गाजामा इजरायली आक्रमण र त्यहाँ भेटिएको सामूहिक चिहानबारे संयुक्त राष्ट्रसङ्घले छानबिन गर्न माग गरेको छ । राष्ट्रसङ्घ मानवअधिकार प्रमुखले नासेर र अल–शिफा अस्पतालमा भएको विनाशबाट आफू त्रसित भएको टिप्पणी गरेका छन् ।

मानवअधिकार प्रमुख भोल्कर टर्कले सामूहिक रुपमा शव भेटिएको घटनाबारे स्वतन्त्र छानबिनको माग पनि गर्नुभयो । प्यालेस्टिनी अधिकारीहरूले नासेर अस्पतालमा भेटिएको सामुहिक चिहानबाट झण्डै ३ सय जनाको शव निकालेको बताएका छन् । उनीहरुको मृत्यु कहिले भयो वा कहिले गाडियो भन्ने खुलाइएको छैन ।

इजरायली सेनाले ती शव गाडेको प्यालेस्टाइनले आरोप लगाएको भए पनि इजरायलको सेनाले निराधार भएको बताएको बीबीसीले जनाएको छ । तर गएको फेब्रुअरीमा खान युनिस शहरको अस्पताललाई दुई हप्ता नियन्त्रणमा लिएर सेनाले सैन्य अभ्यास चलाएको थियो ।

यही क्रममा इजरायली सैनिकले बन्धक बनाएकाहरुको आक्रमणमा ज्यान गएको प्यालेस्टिनीले बताएका खबरमा उल्लेख छ । अहिले रिहा भएका १० जना बन्धकहरुले उनीहरुलाई बन्दी बनाएको बेला लामो समयसम्म नासेर अस्पतालमा राखिएको बताएका छन् ।

अस्पतालका कर्मचारीहरूले पनि बाहिर चलिरहेको युद्धका कारण चिहानसम्म पुग्न नसक्दा शवलाई अस्पताल परिसरभित्रै गाड्न बाध्य पारिएको बताएका थिए ।

एजेन्सी

Comments

Back to top