सिद्धार्थ काबरा: क्वालिटी फुड प्रोडक्टका निर्देशक, विदेश भासिनुभन्दा फर्किएर आफ्नै देशमा कर्म गर्न फर्किएका व्यक्ति!

युवा उद्यमी सिद्धार्थ काबरा क्वालिटी फुड प्रोडक्टका निर्देशक हुन्। सिद्धार्थ विराटनगरमै जन्मे, हुर्के । स्कुले शिक्षा पनि त्यहीँबाट लिए । उच्च शिक्षा पढ्न भारतको मुम्बई र दिल्ली पुगे । त्यसपछि लन्डनको नर्थहम्टन विश्वविद्यालयमा चार वर्ष बिजनेस म्यानेजमेन्ट पढे । त्यहाँ पढ्दै गर्दा उनले केही महिना बैंकमा काम पनि गरे ।

 उनका अनुसार विदेशमा बसेर नोकरी गर्नुभन्दा आफ्नै देशमा उद्यम गर्नु धेरै हिसाबले उत्तम हुन्छ । नेपालमा उद्यम गर्न जति सहज छ, विदेशमा बसेर उद्यम गर्न त्यत्ति सहज छैन । नेपालमा केही गर्न नसक्नेले विदेशमा गएर धेरै गर्न सक्छु भन्नु फुइँ मात्र हो । देश–विदेशको अवस्था नियाल्दा उद्यमका लागि नेपालमा नै सबैभन्दा राम्रो अवसर देखियो । पारिवारिक पृष्ठभूमि, देशको माया र अवसरलाई जोस र जाँगरका साथ उद्यममा लगाउँदा अवश्य राम्रो प्रतिफल आउँछ । नेपालमा एक क्षेत्रमा मात्र होइन, अनेक क्षेत्रमा अवसर छ । तर, त्यसलाई क्यास गर्न सक्नुपर्छ । हरेक युवाले नयाँ सोचका साथ काम अगाडि बढाउनुपर्छ ।  

नेपालमा बिस्कुटको बजार बढ्दो छ । तर, भारतबाट आयातीत बिस्कुटले बजारमा हस्तक्षेप गरेको छ । भारतबाट आउने सस्ता र गुणस्तरहीन बिस्कुटका साथै ठूला कम्पनीका बिस्कुटले नेपाली उत्पादनलाई ओझेलमा पार्ने गरेको छ । नेपालमा आउने भारतीय बिस्कुट प्रायः सबै तस्करीको बाटोबाट आउने गरेका छन् । नेपाली उपभोक्तामा पनि नेपालीभन्दा भारतीय बिस्कुट नै प्रयोग गर्ने गलत संस्कार छ । यसलाई चिर्नु नेपाली बिस्कुट उद्योगीका लागि ठूलो चुनौती हो ।
 
यहाँ अवसरै–अवसर भएकाले उद्यम सुरु गर्न सकेमा भविष्य धेरै राम्रो छ । हामी युवा, देशले केही दिएन भनेर भाग्नुभन्दा हामीले नै केही किन गरेनौँ भनेर स्वदेशमै उद्यम गर्न होमिनुपर्छ । नेपालमा अवसरको कमी छैन, मात्र सोच र जाँगरको कमी हो । पढेलेखेका पुस्ता पहिलेजस्तो अलमलिएर बेरोजगार भएर बस्नु हुँदैन । केही न केही उद्यम गर्न लाग्नुपर्छ । यसरी मात्रै नेपालमा नयाँ सोचको उद्यमशीलता फस्टाएर जानेछ । जसले देशको औद्योगिक विकासमा नयाँ ढोका खोल्नेछ ।

Comments

Back to top