"टिसा नेपाल", जसले अनलाइन बेच्छ आधुनिक गरगहना

आकाशिएको सुनको भाउ र गहनामा बढ्दो फेसनका कारण पछिल्लो समय नक्कली गहनातर्फ आकर्षण बढिरहेको छ । प्राय भोजभतेरमा नक्कली सुनदेखि अन्य आधुनिक गरगहना लगाएको देखिन्छ । 

अमेरिकन डायमण्डदेखि अष्ट्रेलियन डायमण्ड पनि अनलाइनमा किनेर लगाउने पनि युवती वा महिला छन् । यस्तै आधुनिक गरगहना अनलाइन मार्फत बेच्ने टिसा नेपालको कथा आजको मेरोलगानी स्टार्टअपमा ।

इन्स्टाग्राममा १७ हजार ३०० भन्दा धेरै फलोअर्स रहेको टिसा नेपाल आधुनिक गहनाका लागि चर्चित छ ।

अष्ट्रेलियन डायमण्ड भनिने पत्थरका गरगहना नै टिसाको विशेषता हो । घाँटीमा लाइने नेकलेस, कानका झुम्का, सारीमा लाइने पिन अथवा ब्रच र पुरुषको कोटमा लाउने कफिङ आदि टिसाले बिक्री गर्ने गरेको छ ।

टिसा नेपाल २०२१ जुलाई २४ मा औपचारिक रुपमा सुरु भएको थियो । अनिष मानन्धर र वर्षा मानन्धर टिसा नेपालका संस्थापक तथा संचालक हुन् । बिजनेस पार्टनर मात्र नभई मंगेतर समेत रहेका दुई भन्छन्, "हामी दुवै जना नेवार भएकोले नेवारी नाम राखेका हौं । टिसाको अर्थ गहना भएकोले, यो नै प्रफेक्ट नाम हो जस्तो लाग्यो र टिसा नाम राख्यौं ।"

घरबाट एक मोबाइल र केहि कानका झुम्काबाट सुरु भएकाे थियो टिसा नेपाल । तर, अहिले भने २७ वर्षिय यी युवा जोडिको यो व्यवसाय फस्टाएर आफ्नै स्टुडियोमा रुपान्तरण भइसकेको छ । 

टिसाले गरगहनाहरु अनलाइनमा अर्डर लिएर मात्र डेलिभरी गर्ने गरेको छ । स्टोर संचालन गर्ने भने उनीहरुको सोंच छैन । वर्षा अनुमान गर्छिन्, "स्टोरमा हामी जादैनौँ होला बुटिक सोरुमकै रुपमा बिस्तारै सुरु गर्छौँ होला ।"

अहिले टिसा नेपालमा अर्डर लिने, बजारबाट गरगहना ल्याउनेदेखि बजारीकरण र ग्राहककोमा पुर्याउनेसम्म यी दुईले धानिरहेका छन् । "अहिले हामी दुई जना मात्र भएकोले स्टोर खोल्ने योजना छैन," वर्षको छेवैमा बसेका अनिष थप्छन् ।

प्रायजसो अष्ट्रेलियन डायमण्डमा बनाइएको गहना बेच्ने टिसा नेपालले यस बाहेक अमेरिकन डायमण्ड र भारतीय गरगहना पनि बेच्ने गरेको छ ।

समय परिवर्तन भएसँगै सुन लगायतका गरगहनाबाट महिलाहरु आधुनिक गरगहनालाई रोज्नुले टिसा नेपाललाई केहि हदसम्म फाइदा पनि पुगेको छ । यद्यपी प्रतिस्पर्धा भने धेरै नै भएको यो जोडीको अनुभव छ । "केहि फरक दिन खोज्नु र त्यस्तै डिजाइन र क्वालिटी ग्राहकसम्म पुर्याउने हुँदा नै हामीलाई विश्वास गर्नुभयो । सुन किन्नु भन्दा यस्तो गहना लाउँछु भन्नेले पैसा हाल्नुहुन्छ । अहिले विशेषगरी बेहुलीहरुले धेरै हाम्रो गहना लाउनुहुन्छ । हाम्रो वेडिङ सिजनमा खासगरी बेहुलीहरुले नै अर्डर गर्नुहुन्छ ।"

वर्षा भन्छिन्, "पहिलेदेखि नै अरुले जे गरिराखेका छन्, त्यो नगरौँ भन्ने थियो । राम्रो र बजारमा सजिलै नपाइने डिजाइन र गहना बेच्ने नै उद्देश्य भएको उनीहरु बताउँछन् । अनलाइनमा थप बढ्नसक्नु नै हाम्रो खास उद्देश्य हो ।"

"आफ्नो काम भनेपछि अलि मोटिभेसन हुने रहेछ," अनिष मुसुक्क हाँस्छन् । "हामी अहिले पनि १०० फलोअर्स बढ्दा पनि कति खुशी लाग्छ," दुबै खुलेर हाँस्छन् ।

"नेपालमा नै उत्पादन गरौँ भनेर हामीले कोशिस गर्यौँ तर कालिगढहरु पाउन अत्यन्त कठिन भयो । लगानी पनि धेरै चाहिने भएकोले ग्राहकलाई ठिकै मूल्यमा दिन गार्हो छ । तर पनि अझै हामी हाउस अफ मेनको लागि कोशिस गरिरहेका छौँ ।"

"इन्स्टाग्राममा कसरी मार्केटिङ गर्ने भन्ने नै हाम्रो स्ट्राटेजी हो । मान्छेहरुमा रिच भएपछि आफै आउने रहेछ," वर्षाले रणनीति बताइन् ।

Comments

Back to top