क्याल्भिन रिचर्ड: फेसनको दुनियाँमा क्याल्भिन क्लेन यसरी बन्यो लोकप्रिय!

क्याल्भिन रिचर्ड क्लेनको जन्म १९ नोभेम्बर १९४२ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोंक्समा भएको थियो। उनका बुबा लियो क्लेन हंगेरीका आप्रवासी थिए। उनकी आमा, फ्लोर स्टर्न, अस्ट्रियाली मूलकी थिइन्। क्याल्भिन सानैदेखि सिलाईका शौकीन थिए। क्याल्भिनले आफ्नो युवावस्था ब्रोंक्समा स्केच र सिलाई सिक्दै बिताएका थिए।

डिजाइन र सिलाईको बारेमा सिक्ने उनको जोश विद्यालय शिक्षाको समयदेखि स्पष्ट थियो। क्याल्भिनकी आमाले उनलाई फेसन र कलाप्रतिको प्रेमलाई पछ्याउन प्रोत्साहन दिइन्। थप अध्ययनको लागि म्यानहट्टनको हाई स्कूल अफ आर्ट एन्ड डिजाइनमा उनी भर्ना भए।

क्याल्भिन क्लेनका उत्पादनहरू १९८० देखि विश्वव्यापी बजारमा द्रुत रूपमा बढ्दै गएको हो र ती उत्पादनहरुको एकाधिकार कायम छ। जानकारी अनुसार सन् २०२१ मा यस कम्पनीले ८.५ बिलियन डलरको बिक्री गरेको थियो । आजको मितिसम्ममा, कम्पनीको ११० भन्दा बढी देशहरूमा केन्द्रहरू छन्।

क्याल्भिन क्लेन ब्रान्ड विशेष गरी यसको कपडा र परफ्युमको लागि प्रसिद्ध छ। यो पाँच दशक भन्दा अघिदेखि सबैभन्दा सफल ब्रान्डहरूमध्ये एक हो। जस्टिन बीबर, केन्डल जेनर, किम कार्दशियन, केट मोस, जे–जेड, ह्यारी स्टाइल्स, जी चाङ वुक, एम्मा वाटसन, सेलेना गोमेज, निक जोनास र टेलर स्विफ्ट जस्ता धेरै प्रसिद्ध सेलिब्रेटीहरूले यस ब्रान्डको कपडा र परफ्युमहरू प्रयोग गर्छन्।

कम्पनी सुरु गर्नका लागि क्याल्भिन र ब्यारीले १० हजार डलर उधारो लिए। कम्पनीको स्थापना गरेको केही समयमा नै क्याल्भिन क्लेनले एक ठूलो अवसर देखे। लक्जरी डिपार्टमेन्ट स्टोर बोनविट टेलरबाट कोट किन्ने गरेकी एउटी महिला गल्तीले गलत फ्लोरमा पुगिन्। सो फ्लोरमा, उनले क्याल्भिन क्लेनको कोट देखे। डिजाइनबाट प्रभावित भएर उनले क्याल्भिनलाई बोनविट टेलरका अध्यक्षसँग भेट्न आमन्त्रित गरिन्। त्यहाँ ५० हजार डलरको सम्झौता भयो। त्यसपछि केल्भिन क्लेनले पछाडि फर्केर हेर्नु परेन।

एक वर्ष भित्र ब्रान्डले शहरव्यापी मान्यता प्राप्त गर्न थाल्यो। सेप्टेम्बर १९६९ मा, प्रतिष्ठित लाइफस्टाइल पत्रिका भोगले आफ्नो आवरणमा क्याल्विनलाई स्थान दियो। यसले गर्दा कम्पनीले थप प्रचार पायो र ब्रान्डलाई स्थापना गर्न मद्दत गर्यो।

१९८० को दशकपछि यो अमेरिकी बजारमा गेम चेञ्जर साबित भयो। महिलाहरुको लागि यसको कलेक्शन धेरै लोकप्रिय भयो। यद्यपि, संयुक्त राज्यमा १९९० को दशकको शुरुवातमा मन्दीको समयमा, ब्रान्डले तात पल्टिने अवस्थाको सामना गर्नु पर्यो। तर क्याल्भिन क्लेनले फेरि सफलता हासिल गर्यो।

ब्रान्डको सफलता १९९० र २००० को दशकमा जारी रह्यो। डिसेम्बर २००२ मा, पीभीएचले क्याल्भिन क्लेनलाई ४०० मिलियनभन्दा बढीमा अधिग्रहण गर्यो, जस पछि ब्रान्डले रेडि टु वेयर कपडाहरू उत्पादन गर्न थाल्यो। केल्भिन क्लेनका अधिकांश कपडाहरूले ठूलो सफलता पाए। अहिले यो संसारको सबैभन्दा सफल र लोकप्रिय ब्रान्ड बनेको छ।

 

Comments

Back to top