नेपाली पुँजीबजारका समस्या र समाधानका उपाय

धितोपत्र बजारको इतिहास विराटनगर जुट मिल्स लिमिटेड र नेपाल बैंक लिमिटेडको १९३७ मा भएको शेयर फ्लोटेशनबाट शुरू भयो। १३ जनवरी १९९४ मा नेप्सेले आफ्नो व्यापारिक सुरूवात गर्यो। नेप्सेले जनवरी १९९४ मा १०० अंकबाट दोस्रो बजारमा कारोबार सुरु गरेको थियो। हालसम्मको नेप्से सूचकांकको उच्चतम बिन्दु ३१३८.०६ र न्यूनतम अंक २९३ रहेको छ । यस उतारचढावका बीच पुँजीबजार धेरै समस्या र अवसरले भरिएको छ । आज हामी नेपाली पुँजीबजारमा रहेका समस्याहरुको बारे चर्चा गरौँ ।

विविधीकरणको अभाव : नेपालको पुँजीबजारमा वित्तीय क्षेत्रको वाहुल्यता रहेको छ । आषाढ २०७८ सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत २१९ कम्पनीहरुमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्, १९ वटा उत्पादन र प्रशोधन उद्ध्योग , ४० वटा जलविद्धुत कम्पनी , ४ वटा होटल तथा ४ व्यापारिक संस्था र ५ वटा लगानी कम्पनी रहेका छन् । यसका साथै पुँजी बजारमा शेयरको बाहुल्यता रहेको छ ।

संस्थागत लगानीकर्ताको अभाव : संस्थागत लगानीकर्ताको कमीका कारण सीमित व्यक्तिहरुको हचुवा विश्लेषण तथा लगानी निर्णयका आधारमा बजार चल्ने गरेको छ ।

विशिष्टीकृत संस्थाको अभाव : नेपालको बजारमा भेन्चर क्यापिटल, एकुइटी फन्ड, पोर्टफोलियो म्यानेजर जस्ता लगानीकर्तालाई प्राविधिक विश्लेषणका आधारमा सुझाव तथा सल्लाह दिने विशिष्टिकृत संस्थाहरुको कमी छ ।

लगानीकर्तामा चेतनाको अभाव : लगानीकर्ताहरुमा कम्पनीको वित्तीय पक्षको विश्लेषण गरी लगानी गर्ने क्षमता तथा पुँजी बजार सम्वन्धी चेतनाको कमी छ जसले गर्दा कतिपय लगानीकर्ताहरुले हल्लाका भरमा लगानी गर्ने गरेका छन् ।

क्रेडिट रेटिङ संस्थाको कमी : नेपालमा हाल दुई वटा क्रेडिट रेटिङ संस्थाहरु कार्यरत रहेतापनि सम्पुर्ण संस्थाहरु तथा ऋणीहरुको प्रभावकारी रुपमा रेटिङ गर्नका लागि ती संस्थाहरु पर्याप्त छैनन् ।

उतारचढावको समस्या : पुँजी बजारको अवस्था देखाउने नेप्से परिसूचक तथा बजार पुँजीकरणमा ठुलो उतारचढाव छ । विगतमा ११६७ विन्दुमा पुगेको नेप्से परिसूचक केही समय पछि नै ३०० मा पुगेको लागि तथा बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि गर्ने निर्णय पश्चात १८८१ विन्दुमा पुगी हाल फेरी बढेर २४०० को हाराहारीमा पुगेको छ ।

काठमाडौं केन्द्रित बजार : पुँजी बजार अधिकांश कारोबार काठमाडौंमा हुने गरेको छ । हाल संचालनमा रहेका ९७ बटा ब्रोकरका शाखा मध्ये ५७ बटा शाखा काठमाडौंमा रहेको तथा ती संस्थाहरुबाट दोस्रो बजार कारोबारको करीब ९० प्रतिशत कारोबार हुने गरेको छ ।

ऋणपत्रको बजार नहुनु : पुँजी बजारमा सरकारी ऋणपत्रको दोस्रो बजार प्रभावकारी रुपमा संचालन हुन सकेको छैन् भने नीजि क्षेत्रमा कम्पनीहरुबाट जारी भएको ऋणपत्र न्यून छ ।

नियमनको कमजोरी : नेपाल स्टक एक्सचेन्ज तथा धितोपत्र वोर्ड र अन्य नियमनकारी निकायहरुका बीचमा प्रभावकारी समन्वय नहुँदा कतिपय अवस्थामा समस्या सृजना हुने गरेको छ ।

पुँजीबजारमा रहेका समस्या समाधान गर्न निम्नलिखित सुझाव दिन सकिन्छ :
 बजारको विविधीकरणलाई अगाडि बढाउने ।
 उपत्यका बाहिरका स्थानहरुमा दोस्रो बजारको पहुँच अभिवृद्धि गर्ने ।
 संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने ।
 पुँजी बजारका लागि आवश्यक विशिष्टिकृत संस्थाहरुको स्थापनाका लागि उपयुक्त वातावरण सिर्जना गर्ने।
 विदेशी संस्थागत लगानीकर्ता तथा गैर –आवासीय नेपालीलाई पुजी बजार खुल्ला गर्ने ।
 नियामक निकायको क्षमता अभिवृद्धि गर्ने ।
 पुँजी बजारका लागि आवश्यक नीतिगत सुधारहरु गर्ने ।
 निजी क्षेत्रबाट नयाँ स्टक मार्केट स्थापना गर्दै नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने ।
 शेयर कारोबारको अनलाईन खरिद विक्री प्रणाली लाई भरपर्दो तथा प्रभावकारी बनाउने ।
 सूचना तथा जानकारीमा सर्वसाधारण लगानीकर्ताको सहज पहुँच हुने व्यवस्था मिलाउने ।

Comments

Back to top