छिमेकी देश भारतले आउँदो वर्ष आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने घोषणा गरिरहँदा नेपालमा पनि यस बारेमा बहस हुन थालेको छ । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन अध्ययन शुरु गरेको छ ।
पछिल्लो समय क्रिप्टो करेन्सी जस्ता मुद्राहरूलाई अवैध कारोबार भन्दै कारबारही शुरु गरेको राष्ट्र बैंकले आफ्नै करेन्सी ल्याउन समिति नै बनाएर छलफल शुरु गरेको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले प्रारम्भिक चरणको अध्ययन शुरु गरिएको जानकारी गराए ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरी अध्ययनको जिम्मा दिइएको छ । अध्ययनका लागि एक महिना समय पाएको समितिले अध्ययन प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अघि बढ्ने प्रवक्ता भट्टले बताए । राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा ल्याउन अध्ययन शुरु गरे पनि बिटकोइन, क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्तामा गरिएको लगानी गैर कानुनी नै हुनेछन् भनेर बताईएको छ ।
Comments