आगामी आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गरिँदै
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दै छ । राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।
यसका लागि संघीय संसदका दुवै सदनको बैठक बोलाइएको छ ।
बैठक दिउँसो १ बजे बस्ने छ । अर्थमन्त्री वर्षमान पुनले सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले आज बजेट ल्याउन लागेको हो ।
स्रोत अभावका बाबजुद पनि सरकारले आन्तरिक र बाह्य ऋणको आकार बढाएरै भएपनि लगभग १९ खर्बको बजेट ल्याउने तयारी गरेको छ ।
त्यस्तै सरकारले २५ प्रतिशतले राजस्व वृद्धिको लक्ष्य लिएको छ ।
बजेटमा स्रोत सुनिश्चितता नभएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहनाका कारण १९ खर्बको हाराहारीमा बजेट ल्याउने सरकारको योजना रहेको स्रोतको दाबी छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले भने सरकारलाई १८ खर्बको सिलिङ दिएको थियो ।
राजनीतिक तहबाट केही नयाँ कार्यक्रमको प्रस्ताव आएपछि बजेटको आकार बढाउन प्रधानमन्त्री प्रचण्ड बाध्य भएका हुन् । आउँदो साउन १ गतेबाट कार्यान्वयनमा आउन लागेको बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्ने सरकारको दाबी छ ।
एजेन्सी
Comments