सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने
सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौथो दिन पनि रिले अनशन जारी राखेको छ ।
गत शक्रबारदेखि काठमाडौँस्थित माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन मंगलबार चौथो दिन पनि जारी छ । आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीपीडितहरूले रिले अनशन जारी राखेका हुन् । सरकारले सम्झौता सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेसँगै काठमाडौँ उपत्यकासहित चितवनमा पनि आन्दोलन सुरु भएको हो ।
आन्दोलनमा विशेषगरी तीन वटा सहकारीबाट पीडित रामप्रसाद राजभण्डारीले सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगरेर पीडितहरुमाथि अन्याय गरेको बताए । आन्दोलन गरेको चार महिना भइसक्दा पनि सरकारले बेवास्ता गरेका कारण तेस्रो चरणको आन्दोलन गर्न आफूहरू बाध्य भएको बताए ।
उनले भने, ‘आन्दोलन त गर्नैपर्ने भयो । मानिसहरूले खानै नपाउने अवस्था सृजना भयो । सहकारीमा दुई पैसा ब्याज बढी आउँछ भनेर पैसा राखियो । तीन वटा सहकारीमा मेरो पैसा छ । सिभिल सहकारी, लाली गुराँस र स्टा सेभिङमा थियो । तीन वटामा नै मेरो पैसा डुब्यो । सरकारले न्याय दिएन । सुन्नुपर्ने त सरकारले हो नि । आन्दोलनमा आएको पनि करिब चार महिना भइसक्यो । तर हाम्रो मागलाई सरकारले वास्ता गरेन त्यसैले आन्दोलनमा आउन बाध्य छौँ ।’
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब देशैभर सशक्त रूपमा आन्दोलन अगाडि बढाउने चेतावनी दिएका छन् ।
एजेन्सी
Comments