आजदेखि पोलियोविरुद्धको खोप अभियान सुरु
सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियोविरुद्धको बालबालिकालाई ‘आईपीभी’ खोप दिइनेछ ।
आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो ।
यसअघि खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभागले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।
देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाइने विभागको योजना छ ।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप लगाउन सक्ने छन् । पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ ।
सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।
एजेन्सी
Comments