प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलको चेतावनी

प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलले चेतावनी दिएको छ । इजरायलको विदेश मन्त्रालयले हिजो आयरल्यान्ड, नर्वे र स्पेनसँग इजरायलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने बताएको हो ।

यी देशले आउने हप्तादेखि प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरका थिए । प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने हो भने  प्यालेस्टिनी विद्रोहीले गाजामा राखेका बन्धकहरूको रिहाईका लागि सम्झौता अघि बढाउन थप कठिन हुने इजरायलले प्रतिक्रिया दिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले गाजा युद्ध अपराधलाई लिएर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्रीसहित हमासका नेताका लागि पक्राउ पुर्जी माग गर्ने बताएको केही दिनपछि ३ वटा देशले प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने घोषणा गरेको हो ।

प्यालेस्टिनलाई मान्यता दिन समर्थन जुटाउनका लागि धेरै देशको भ्रमण गरेका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यो कदमले मध्यपूर्व द्वन्द्वका लागि दुई–राज्य समाधानलाई पुनर्जीवित गर्ने प्रयासलाई बलियो बनाउने बताए । इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया दिँदै तीन वटै देशबाट आफ्ना राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको छ । 

एजेन्सी

Comments

Back to top