रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई युक्रेनी राष्ट्रपतिकाे आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई अपिल गरेका छन् । रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका गाउँहरू धमाधम कब्जा गर्न थालेपछि युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसलाई परास्त गर्न आफूले साझेदार देशहरूबाट प्रत्यक्ष संलग्नताको अपेक्षा गरेको बताएका छन् ।

कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार जेलेनेस्कीले सबैजसो पश्चिमा हतियारको प्रयोगको अनुमति दिन पनि माग गरेका छन् । उनले नाटोका हतियार र मिसाइल प्रयोग गरेर रुसी मिसाइल रोकिदिनुपर्ने बताएका छन् ।

रुसले सन् २०२२ मा आक्रमण शुरु गरेदेखि युक्रेनमा हजारौँ मिसाइल र ड्रोनहरू प्रहार गरेको छ । रुसले यही मे १० तारिखदेखि खार्किभको उत्तरपूर्वी सीमा क्षेत्रमा आक्रमण शुरु गरेको छ ।

रुसले युक्रेनविरुद्ध तीन सय वटा विमान प्रयोग गरिरहेको बताउँदै जेलेनेस्कीले रुसविरुद्ध आकाशमै प्रतिरोध गर्न कम्तीमा एक सय ३० वटाभन्दा धेरै लडाकु विमान चाहिएको र यो सहयोग नाटो तथा पश्चिमा देशले गर्न सक्ने उनको भनाइ छ ।

एजेन्सी

Comments

Back to top