इरानमा उपराष्ट्रपति मोहम्मद मोखबर कार्यवाहक राष्ट्रपति नियुक्त

इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनपछि उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार सम्हाल्ने भएका छन । रायसीको निधनपछि देशको पहिलो उपराष्ट्रपति मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

इरानको संविधानले मोखबरको अन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता आयातोल्लाह खामेनीलाई अधिकार सुम्पिएको छ । सर्वोच्च नेता खामेनी सबै राज्य मामिलामा अन्तिम निर्णायक हुन्।

इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा निधन भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । इरानको संविधानले राष्ट्रपतिको निधन भएको वा स्वास्थ्य अवस्था अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ ।

एजेन्सी

Comments

Back to top