हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रायसीको मृत्यु भएको पुष्टि

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिराब्दुल्लाहियानको मृत्यु भएको छ ।

इरानको पूर्वी अजरबैजान प्रान्तमा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अमिराब्दुल्लाहियानको मृत्यु भएको पुष्टि भएको हो  । त्यहाको सरकारी टेलिभिजनले कोही पनि जिवित फेला नपरेको पुष्टि गरेको  हो ।

इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो ।

सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटनामा परेको हो । मौसम र भौगोलिक जटिलताका कारण खोज र उद्धार टोली दुर्घटनास्थल सम्म पुग्न निकै सकस परेको थियो ।

दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ ।

६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।

राष्ट्रपतिसहित हेलिकोप्टरमा ९ जना सवार थिए ।

उद्धारकर्ताहरूले खराब मौसमका बीच निकै लामो प्रयासमा दुर्घटनास्थल फेला पारेका थिए । उनको मृत्यु भएसँगै इरानका उपराष्ट्रपति मुहमद मुखबरले राष्ट्रपतिको कार्यभार सम्हालेका छन् ।

नयाँ राष्ट्रपतिको निर्वाचन ५० दिनभित्रमा गर्ने इरानी सरकारले जनाएको छ ।

एजेन्सी

Comments

Back to top