युक्रेनको खार्किभलाई तत्काल कब्जा गर्ने योजना छैन- रुसी राष्ट्रपति पुटिन
दुईदिने चीन भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हार्बीनको भ्रमण गरेका छन् ।
चीनको पूर्वीत्तर शहर हार्बीन भ्रमणका क्रममा पुटिनले अहिलेलाई युक्रेनको खार्किभ कब्जा गर्ने योजना नभएको बताएका हुन् ।
खार्किभ युक्रेनको दोस्रो ठूलो शहर हो । तर, पुटिनले रुसको आफ्नै सुरक्षाका लागि ‘सुरक्षित क्षेत्र’ बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वीत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेका बीबीसीले जनाएको छ ।
रुसी सीमा नजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा आक्रमणका घटना भइरहेका छन् ।
प्राविधिक र औद्योगिक केन्द्रका रूपमा रहेको खार्किभ क्षेत्र रुसी सीमादेखि झण्डै ३० किलोमिटर टाढा पर्छ । आफ्नो छिमेकी देश युक्रेनमाथि पूर्ण स्तरमा रुसले आक्रमण थालेको तीन वर्ष पुगेको छ ।
तत्काल आक्रमण रोकिने कुनै सङ्केत पनि देखिएका छैनन् । भ्रमणको पहिलो दिन अस्ति पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको थियो ।
पुटिन चीनमा पुगेकै बेला अमेरिकाले चीनले युरोप र रुससँग एकै समयमा राम्रो सम्बन्ध राख्न नसक्ने टिप्पणी गरेको छ ।
एजेन्सी
Comments