संसद बैठक बस्दै, कांग्रेसले आज पनि अवरोध गर्ने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । हिजो स्थगित बैठक आज बिहान ११ बजे बोलाइएको छ ।

हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आजका लागि स्थगित गरिएको थियो । हिजो कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि असहज स्थिति उत्पन्न भएको थियो ।

सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएका थिए । गृहमन्त्री लामिछानेलाई कांग्रेसले रोक्न खोजेपछि एमालेका सांसद प्रतिकारमा उत्रिएका थिए।

सहकारीको बचत हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि विरोध जारी राख्ने कांग्रेसले जनाएको छ ।

एजेन्सी

Comments

Back to top