उपेन्द्र यादव र दीपक कार्कीले दिए राजीनामा
उपप्रधान उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएका छन् । उनीहरूले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
आइतबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय लिएको थियो । सोही अनुसार आज (सोमबार) उनीहरूले राजीनामा दिएका हुन् ।
आइतबार बिहान जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जानकारी गराएका थिए ।
सरकारमा सहभागी जसपा नेपाललाई विभाजन गर्दै अशोक राईले अघिल्लो हप्ता जसपा गठन गरेका थिए। आफ्नो दल विभाजित भए पनि यादवले सुरुवातमा सरकारमा सहभागी हुने निर्णय लिएका थिए । तर प्रधानमन्त्रीले नै सरकारबाट हटाउन चाहेको बुझेपछि उनले नयाँ निर्णय लिएका हुन् ।
राजीनामा पत्रमा यादवले ‘वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा’ राजीनामा दिन चाहेको उल्लेख छ ।
सरकारमा यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री र कार्की वन तथा वातावरण राज्यमन्त्री थिए ।
एजेन्सी
Comments