अतृप्त आत्मा र स्वार्थी झुण्ड प्रयोग गरी पार्टी फुटाइयो: अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थी झुण्ड प्रयोग गरी पार्टी फुटाइएको दावी गरेका छन्।

मधेशी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरूको हतास मानसिकता भएकाहरूलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका हुन्। उपप्रधानमन्त्री यादवले २–४ जना लोभीपापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जिते जस्तो सोच्नु दिवास्वप्न मात्रै रहेको बताए।

काँग्रेस कम्युनिष्टविरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको बताए। पार्टीबाट केही लोभपापी अलग्गिँदैमा जसपा नेपाल कमजोर नहुने दाबी गर्दै अब जसपा नेपाल थप गतिका साथ अघि बढ्ने स्पष्ट पारे।

उनले भने, ‘२–४ जना फुट्दैमा जितेको सोच्नु भ्रम मात्रै हो। मधेशको मुद्दा, संघीयता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिलेदेखि नै षड्यन्त्र हुँदै आएको थियो। अतृप्त आत्माहरूलाई प्रयोग गरेर जसपा नेपाल मात्रै नभई मधेशमाथि प्रहार गरिएको हो। जसरी शरीर स्वस्थ रहन विकार निकाल्नुपर्छ राम्रै विकार निक्लिएर गएको छ, अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडि बढ्नेछ।’

एजेन्सी

Comments

Back to top