सहकारी प्रकरणमा गृहमन्त्रीबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

शनिवार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताएकी हुन् ।

कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गरेका थिए । त्यस विषयमा आइतबार बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताइन् ।

सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ ।

कांग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा पस्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो । एजेन्सी

Comments

Back to top