जर्मनीमा मन्दीको सम्भावना कायमै

जर्मनीमा मन्दी देखा पर्नसक्ने सम्भावना बढेको छ । जर्मनीको केन्द्रीय बैंक बुन्डेस बैंकले सोमबार नियमित मासिक रिपोर्ट सार्वजनिक गर्दै बाह्य माग कमजोर भएकाले जर्मनी मन्दीमा पर्नसक्ने सम्भावना रहेको बताएको छ ।

युक्रेनमा रुसको सन् २०२२ देखिको आक्रमणले ऊर्जा लागत बढाएपछि जर्मनीले संघर्ष गरिरहेको र यसले अर्थतन्त्रमा नकारात्मक वृद्धिको सम्भावना बढाएको छ । बन्डेस बैंकले भनेको छ ‘जर्मन अर्थव्यवस्थाको लागि अझै कुनै रिकभरी छैन, सन् २०२४को पहिलो त्रैमासिक उत्पादन केही घट्न सक्छ भने आर्थिक उत्पादनमा लगातार दोस्रोे गिरावट देखा पर्नेछ र जर्मनीको अर्थतन्त्र प्राविधिकरुपमा मन्दीमा पर्नेछ ।’

जर्मनी सरकारले उच्च ऊर्जा लागत, कमजोर चिनियाँ माग र द्रुत मुद्रास्फीतिले अस्थायीरुपमा वृद्धिलाई रोकेको तर आर्थिक रणनीतिमा मौलिक रुपमा असर नपारेको बताउँदै आएको छ ।

यद्यपि विदेशी औद्योगिक माग र अर्डर ब्याकलग घट्दै गएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । जर्मनीको केन्द्रीय बैंकले युरोपेली केन्द्रीय बैंकले मूल्यवृद्धिसँग लड्नको लागि ब्याजदरलाई उच्चरुपमा बढाएपछि वित्तीय लागत तीव्ररुपमा बढेको कारण फर्महरुले लगानी रोकिरहेको बताएको छ । ज्यालावृद्धिले पनि उद्योगहरुमा असर परेको र यातायातमा भएका हड्तालले पनि त्रैमासिक वृद्धिमाथि असर गर्ने केन्द्रीय बैंकले जनाएको छ । लालसागरमा ढुवानीको अवरोधले भने जर्मनीको आपूर्तिमा कुनै समस्या नपर्ने बुन्डेस बैंकले आफ्नो मासिक रिपोर्टमा उल्लेख गरेको छ ।

Comments

Back to top